भनिन्छ, भागवत गीतामा जीवनको महत्त्वपूर्ण सार छ । महाभारतको युद्धमा अर्जुनलाई अनेक द्विविधा थियो । त्यही द्विविधा मेट्न उनले आफ्ना सारथि श्रीकृष्णमाथि प्रश्न गर्छन् । श्रीकृष्णले अर्जुनका ती प्रश्नहरूको उत्तर दिन्छन् । त्यही एकमुस्ट उत्तर नै भागवत गीता हो । त्यस बेला अर्जुनलाई दिएको उत्तरहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । कुरुक्षेत्रको युद्धमा श्रीकृष्णले जुन गीताको ज्ञान अर्जुनलाई दिएका थिए, त्यो सन्देश पुरा मानव जातिको लागि उपयोगी छ । यदि हामीले भागवत गीताको केही ज्ञान हाम्रो जीवनमा आत्मसात् गर्ने हो भने कष्ट, तनाव, द्विविधा, भ्रम आदिबाट मुक्त हुन्छौँ ।
- वर्तमानको आनन्दः वितेको समय र आउने समयको चिन्ता नगर । किनभने जे हुनुछ, त्यो भएरै छाड्छ । जे हुन्छ, राम्रो हुन्छ । यसैले वर्तमानको आनन्द लिनुहोस् ।
- आत्मभावमा रहनु नै मुक्तिः नाम, पद, प्रतिष्ठा, सम्प्रदाय, धर्म, स्त्री वा पुरुष हामी होइनौं न यो शरीर नै हामी हौं । यो शरीर अग्नी, जल, वायु, पृथ्वी, आकाशबाट बनेको हो र अन्ततः यसैमा विलय हुन्छ । तर, आत्मा स्थिर छ र हामी आत्मा हौं । आत्मा कहिल्यै मर्दैन । न यसको जन्म हुन्छ, न मृत्यु । आत्मभावमा रहनु नै मुक्ती हो ।
- सबै परिवर्तनशिल छः परिवर्तन संसारको नियम हो । यहाँ सबैकुरा बद्लिन्छ । यसैले सुख-दुःख, लाभ-हानि, जय-पराजय, मान-अपमान आदि भेदमा एक भावमा स्थित रहेर हामीले जीवनको आनन्द लिन सक्छौं ।
- क्रोध शत्रु होः आफ्नो क्रोधमाथि नियन्त्रण गर । क्रोधले भ्रम पैदा गर्छ । भ्रमले बुद्धि विचलित हुन्छ । यसले स्मृति नष्ट गर्छ र यसप्रकार मानिसको पतन सुरु हुन्छ । क्रोध, कामवासना र भय यी हाम्रो शत्रु हुन् ।
- ईश्वरप्रति समर्पणः आफुलाई ईश्वरमा समर्पण गर । उनैले हाम्रो रक्षा गर्नेछन् । हाम्रो दुःख, भय, चिन्ता, शोक र बन्धनबाट मुक्त गराउनेछ ।
- दृष्टि शुद्ध गरः हामीले आफ्नो दृष्टिकोण शुद्ध गर्नुपर्छ । ज्ञान वा कर्मलाई एकै रुपमा देख्नुपर्छ ।
- मनलाई शान्त राखः अशान्त मनलाई शान्त राख्ने अभ्यास गरौं । अन्यथा अनियन्त्रित मन हाम्रो शत्रु बन्नेछ ।
- कर्म गर्नुअघि विचार गरः हामीले जस्तो कर्म गर्छौं, त्यस्तै फल प्राप्त हुन्छ । यसैले कर्म गर्नुअघि विचार गर्नुपर्छ ।
- समताको भाव राखौंः सबैप्रति समताको भाव, सबै कर्ममा कुशलता र दुःखरुपी संसारबाट वियोगको नाम योग हो ।